ओखलढुंगा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा
ओखलढुंगा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

ओखलढुंगा । ओखलढुंगालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय ओखलढुंगा रुम्जाटारले एक विशेष कार्यक्रमबीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तभित्र जिल्लाका सबै वडाहरूको घरधुरी सर्वेक्षण र प्रमाणीकरण सम्पन्न गरी चैत २५ गतेभित्र जिल्लाका सबै पालिकाहरूले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेका थिए । सोही प्रक्रियाका आधारमा औपचारिक कार्यक्रमका बीच जिल्ला खोप समन्वय समितिका संयोजक टेकराज भट्टराईले ओखलढुंगालाई पूर्ण खोप सुनिश्चित भएको आधिकारिक घोषणा गर्नुभएको हो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ४ हजार ७ सय ५ जना १६ देखि ५९ महिना उमेर समूहका बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अनुसार नियमित खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय ओखलढुंगा रुम्जाटारका प्रमुख मनिषा मोक्तानले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्ण खोप अभियानमा योगदान पुर्याउने उत्कृष्ट स्वास्थ्यकर्मी र ८ वटै पालिकालाई समेत प्रशंसापत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो ।