ओखलढुंगा । ओखलढुंगा । जिल्लाका स्वास्थ्यकर्मीलाई आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी रोगको प्रारम्भिक पहिचान, उपचार र परामर्श सेवामा दक्ष बनाउन दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
स्वास्थ्य कार्यालय ओखलढुंगाको आयोजनामा भएको कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत २४ जना स्वास्थ्यकर्मी सहभागी भएका छन् ।
कार्यक्रममा आँखा, नाक, कान, घाँटी तथा मुखसम्बन्धी सामान्य रोगहरूको पहिचान, प्राथमिक उपचार, बिरामी व्यवस्थापन तथा समयमै रेफर गर्ने विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक नबराज बानियाले जानकारी दिए ।
उनका अनुसार अभिमुखीकरणपछि स्वास्थ्यकर्मीहरूले आँखा, नाक, कान, घाँटी तथा मुख रोगका लक्षण पहिचान गर्न, सामान्य समस्याको व्यवस्थापन तथा परामर्श दिन, जोखिमयुक्त बिरामीलाई समयमै रेफर गर्न तथा समुदायस्तरमा स्वास्थ्य शिक्षा सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ ।
तालिमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न तथा रोगको जटिलता कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
ग्रामीण भेगसम्म आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउन यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिइने स्वास्थ्य कार्यालय रुम्जाटारले जनाएको छ ।
